एमालेका जनप्रतिनिधिले नगरलाई बन्धक बनाउँदा नगरपरिषद हुन सकेन : नगरप्रमुख यादव

  जनधाराडेली
  २८ मंसिर २०७९

                            

 जनकपुरधाम, मंसिर २८ । एमालेका जनप्रतिनिधिहरुले नगरलाई बन्धक बनाएपछि नगरपरिषद हुन नसकेको नगराईन नगरपालिकाका नगरप्रमुख विनय यादवले आरोप लगाएका छन् ।

आफू नगरपरिषद गराउन लचकता देखाएपनि उपप्रमुख राधादेवी यादव सहितका एमालेका जनप्रतिनिधिहरुले नगरपालिकालाई बन्धक बनाएकाले नगरपरिषद गराउन नसकेको नगरप्रमुख यादवले बताए ।

पटक पटक बैठक बोलाएर सहमति गर्ने प्रयास गर्दा समेत एमालेका जनप्रतिनिधिहरु सहमतिमा आउन नचाहेको यादवको आरोप छ ।

नगरमा कार्यरत कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मी लगायतको तलब खुवाउन नगरपरिषद हुनु आवश्यक हुन्छ ।

नगरपरिषद हुन नसक्दा बजेट चलाउन नसकेको र पालिकामा कार्यरत ३ सय बढी कर्मचारीलाई तलब खुवाउन नसकेको दुखेसो नगरप्रमुख यादवले सुनाए ।

नेकपा एमालेबाट निर्वाचित भएका उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले राखेको ५ बुँदे माग संबोधन गराउनका लागि हदैसम्मको लचकता अपनाउदा समेत उच्च अदालतले उपभोक्ता समितिको विषयमा बनेको निर्देशिकाको विषयमा फैसला गरिसकेकाले फैसला विपरित संशोधन गर्न नसकिने बताए ।

स्थानीय तह सञ्चालन ऐन अनुसार उपप्रमुखलाई प्रदान गरेको अनुगमन सम्बन्धि अधिकारलाई आफूले कुण्ठित नगरेको नगरप्रमुख यादवले दावी गरे ।

उनले भने ‘वडा स्तरमा पनि योजना दिन तयार छौँ, तर नगर स्तरीय योजनाको अनुगमन गर्ने नगरप्रमुखको अधिकार कसरी छो्ने ?’ अगाडी भने ‘आफू पनि नगराईन नगरपालिकाको जनताका मतबाट निर्वाचित भएकाले आफ्नो पनि दायित्वबाट कुनै हालतमा विमुख हुन सक्दिन ।’

नगराइन नगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिहिरुबिचको राजनीतिक द्वन्द्व बढ्दै गएपछि ११ दिनदेखि नगरपालिकाको सम्पूर्ण काम ठप्प भएको छ । त्यहाँ तलब नपाएका कर्मचारीहरुका साथै सो नगरपालिकाका विद्यार्थीहरु समेत आन्दोलिनत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट