प्रतिनिधिसभातर्फ धनुषाका चारमध्ये तीन क्षेत्रमा एमालेको शुरुवाती अग्रता

  जनधाराडेली
  ०६ मंसिर २०७९

                            

जनकपुरधाम, ६ मंसिर । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवारहरुले शुरुवाती अग्रता बढाएका छन् ।

धनुषामा पछिल्लो मतपरिणामअनुसार पाँचदलीय गठबन्धनका उम्मेदवारहरु भने पछाडि परेका छन् ।

धनुषाको क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन् ।

कार्कीले २ हजार १५३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरीले १ हजार ९०६ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १ हजार ६२० मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १ हजार २९५ मत पाएका छन् ।

धनुषा–२ मा भने पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले अग्रता कायम राखेका छन् ।

अरगरियाले ४ हजार १६६ मत प्राप्त गर्दा पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले ३ हजार ३७१ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव २ हजार २६७ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले १ हजार ७८७ मत मात्र पाउन सकेका छन् ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार जयनारायण साहले १ हजार ५७४ मत ल्याएका छन् ।

धनुषा–३ मा पनि नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ६ हजार २४० मत ल्याएकी छन् ।

पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ४ हजार ४३४ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् । पहिलोपटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले १ हजार ८३१ मत प्राप्त गरेका छन् ।

धनुषा–४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले ४७५ मतसहित शुरुवाती अग्रता बढाएका छन् भने पाँचदलीय गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव ३९४ मतसहित दोस्रो स्थानमा छन् ।

धनुषाका यी चारवटै क्षेत्रमा अहिले नै कसको जित हुन्छ भन्ने अवस्थाको अझै अनुमान गर्न सकिँदैन । हालसम्म यी क्षेत्रहरूमा १० देखि १५ हजारसम्म मात्र मतगणना भएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट