धनुषा-३: जित्नेमा जुली ढुक्क, अनिललाई कांग्रेसको डर

  जनधाराडेली
  ०१ मंसिर २०७९

                            

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ को चुनावी माहौल रोचक बन्ने देखिएको छ। यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका जुलीकुमारी महतो(महासेठ), लोकतान्त्रिक समाजवादी पार्टीका अनीलकुमार झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

झा गठबन्धनका साझा उम्मेदवार हुन् । यो निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २१ जना स्वतन्त्र उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा ९७ हजार ५०२ मतदाता रहेकोमा २०७९ मा १ लाख १४ हजार ९ मतदाता छन् ।

यो पटक गत निर्वाचनको तुलनामा १६ हजार ५०७ मतदाता थपिएका छन् । थपिएका मतदाता मध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् । यो निर्वाचन क्षेत्रमा पुरुष मतदाता ६२ हजार ८७ र महिला मतदाता ५१ हजार ९१९ छन् । ४६ वर्षीय महतो, ५५ वर्षीय झा सहित राप्रपाका रामपदारथ मण्डल, जनमत पार्टीका शम्भुनाथ साह लगायतको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतोले ३० हजार ७५० मत प्राप्त गर्दै यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता बिमलेन्द्र निधिले २७ हजार ८४७ मत ल्याएका थिए ।

जसपा फुटेपछि महतो हाल लोसपामा छन् । तेस्रो माओवादी केन्द्रका रामसिंह यादव भएका थिए । उनले २ हजार ३४६ मत ल्याएका थिए । यो पटक महतो सर्लाही क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा भिडेका छन् भने निधि समानुपातिकको बन्दसूचीमा छन् । विसं २०७४ को निर्वाचनमा झा रौतहट-१ बाट निर्वाचित भएका थिए ।

यसपटक सो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा–३ मा चुनाव लड्न आएका हुन् । झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् । जुलीकुमारी अनेरास्ववियुमा आबद्ध भएर राजनीति सुरु गरेकी नेतृ हुन् । २०५७ सालमा एमाले जिल्ला कमिटि सदस्य भएकी जुलीकुमारी २०७४ मा केन्द्रीय सदस्य बनेकी थिइन् ।

संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्य भएकी थिइन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पुनः एमालेकै तर्फबाट समानुपातिक सदस्य भएकी जुली २०७८ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनिन् ।

स्वर्गीय नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा लागेका अनिल वि.सं. ०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका थिए । उनी क्रमशःनेपाल सद्भावना पार्टी, संघीय सद्भावना पार्टीको अध्यक्ष, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य हुँदै अहिले लोसपाका कार्यकारणी सदस्य छन् ।

मधेसमा २०७२ को मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । संविधान सभा सदस्यको हैसियतले संविधान लेखन कार्यमा पनि सरिक भएका थिए । झा नेपाल आयल निगमको कार्यकारी निर्देशक, उद्योगमन्त्री, संविधानसभा सदस्य पनि भए ।

२०७४ को निर्वाचनमा अनिल रौतहट क्षेत्र न १ बाट प्रतितिनधिसभा सदस्यमा निर्वाचित भएका थिए । झाको पैतृक गाउँ रौतहटको मत्सरी हो । मधेस र मधेसीको मुद्दालाई केन्द्रमा राखेर झा राजनीतिमा उदाएका नेता हुन् झा । २०४१ सालामा एसएलसी गरेका झाले वीएससी सम्मको उच्च शिक्षा हासिल गरेका छन् ।

यस्तो छ अंकगणित यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगर १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा पर्छ । यस्तै, विदेह नगरपालिकाको ९, नगराईन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका पर्छ । स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मत नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो राजनीतिक दल कांग्रेस हो । कांग्रेसले धोका नदिए लोसपालाई जितको सम्भावना रहेको राजनीतिक विश्लेषक बताउँछन् ।

कांग्रेसले २१ हजार ६४७ मत प्राप्त गरेको थियो भने एमालेले १६ हजार १८३ मत ल्याएको थियो । यस्तै, लोसपाले ८ हजार ६७३ र जसपाले ८ हजार ५९ मत प्राप्त गरेको थियो । नेकपा एकीकृत समाजवादीले तीन हजार ५०२, जनमत पार्टीले २ हजार ३६८ र माओवादी केन्द्रले ५२७ मत ल्याएको थियो । यहाँ एमाले एक्लै भिँड्दैछ भने सत्ता गठबन्धनमा कांग्रेस, लोसपा, नेकपा एस र माओवादी केन्द्र छन् ।

एमाले एक्लैको १६ हजार १८३ मत ल्याएको थियो भने गठबन्धनको जोड्दा ३० हजार ८४७ मत हुन्छ । गत स्थानीय तह निर्वाचनको मत परिणाम नियाल्दा जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह १३ हजार ४६५ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका शिवसंकर साहले ९ हजार ५३२ मत ल्याएका थिए । यस्तै, धनौजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी लोसपाका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका थिए ।

नगराईन नगरपालिकाको मेयरमा कांग्रेसका विनयकुमार यादवले ५ हजार ५५६ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत ल्याएका थिए । यस्तै, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपाका जयकुमार यादवले ५ हजार ४१० मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याएका थिए ।

यो चुनावमा सत्ता गठबन्धनले लोसपालाई उठाएका कारण लोसपा यो निर्वाचन क्षेत्रमा कमजोर देखिन्छ । लोसपाले जित हाँसिल गर्न कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको मत तान्नुपर्ने हुन्छ । एमालेलाई कमजोर आँकलन गर्न सकिँदैन । एमालेले आफ्नो भोट प्राप्त गरी समाजवादी र कांग्रेसको मत तान्नुपर्ने अवस्था छ । रौतहटबाट धनुषा आएर उम्मेदवारी दर्ता गराएका झाका लागि जुलीलाई पराजित गर्न सहज हुने देखिँदैन ।

यसका साथै धनुषा ३ का मतदाताको विश्वास जित्नु पनि उनका लागि चुनौती छ । गठबन्धन मध्ये कांग्रेसको लागि यो आधार क्षेत्र हो । गठबन्धनको मत र कांग्रेस नेता निधिको भूमिकाले झाका पक्षमा कति मत भन्ने निर्क्यौल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट