बैंकहरुले ब्याजदरमा गरेको बृद्धि बिरुद्ध जनकपुरधामका व्यापारीहरु आन्दोलित

जनधाराडेली
२४ कार्तिक २०७९
जनकपुरधाम, कार्तिक २४ । मुलुकको अर्थतन्त्र धाराशायी हुँदै गईरहेको समयमा बैंकहरुले ब्याजदर बढाएपछि जनकपुरधामका व्यवसायीहरु समेत आन्दोलित भएका छन् ।
वर्ष दिनमै ब्याज दर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै जनकपुरधामका व्यवसायीहरु आन्दोलित भएका हुन् । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार बैंक तथा वित्तिय समस्या समाधनाका लागि व्यवसायीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
व्यवसायीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका हुन् । ब्याजदर वृद्धिको विरोध गर्दै संघका पदाधिकारीहरु सार्वजनिक रूपमा प्रदर्शनमा उत्रिएका छन् । व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चा÷पम्प्लेट बोकेर जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् ।
पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘कर्जा ब्याजदर घटाउ’ लगायतका मागहरु लेखिएको थियो ।
व्यवसायीहरुले व्यापार गर्ने भएकाले बैंकहरु विरुद्ध ढुंगामुडा गर्न नसकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने, ‘हामी व्यवसायी व्यापार गर्ने हौं, बैंकविरुद्ध ढुंगामुढा गर्न सकिँदैन । त्यसैले शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’
ब्याजदर वृद्धिले व्यवसायीहरुलाई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको अध्यक्ष महासेठले बताए । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा मधेस प्रदेश सरकारको अर्थमन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !