मोबाइल नदिँदा साथीको हत्या

  जनधाराडेली
  १२ कार्तिक २०८०

                            

जनकपुरधाम । मोबाइलको लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई जना युवक पक्राउ परेका छन् । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने  सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय पवन सहनीलाई धनुषा प्रहरीले आफ्नै साथी स्थानीय युवक रुपेश महराको हत्या आरोपमा पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार बिहान एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेकाे छ। रुपेशको मोबाइल हरिचरणलाई मन परेपछि नदिंदा हरिचरणले रुपेशको हत्या गरेको अनुसन्धानमा खुलेको जिप्रका धनुषाका एसपी विश्वराज खड्काले बताए। 

एसपी खड्काले भने ‘लागूऔषध सेवनले मातिएका तिनै जना साथीबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचरणले रुपेशलाई बाँसको भाटा प्रहार गरी हत्या गरेको र शव धान खेतमा फाल्न पवनले सहयोग गरेको हो ।’

जनकपुरधाम वडा नम्बर २३ विसविट्टीस्थित धान खेतमा कात्तिक ९ गते शव फेला परेकाे रुपेशको कात्तिक ८ गते राति साढे ९ बजेतिर नै लागूऔषध सेवन गरेको अवस्थामा मोबाइल नदिएको झोंकमा हरिचरणले बाँसको भाटा लिएर हत्या गरेको थियो ।

घटनाबारे जानकारी दिँदै एसपी खड्काले भने दुई वर्ष अगाडि रुपेशसँग चिनजान भएका हरिचरण घटना भएकै दिन कात्तिक ८ गते भारतको चण्डीगढबाट दिनको १२ बजे घर आएका थिए । सोही दिन दिउँसो ३ बजे हरिचरण बसहिया चोकमा पुग्दा पवन सहनीसँग भएको र त्यहीबाट पवन सहनीको मोबाइलबाट हरिचरणले रुपेशलाई घुम्न जाउँ भनी विमानस्थल नजिकको सिक्स लेन सडकमा बाेलाएका थिए ।

त्यहाँबाट तीनैजना साथी दिउँसो साढे ५ बजेतिर टेम्पुमा बसेर सीमापारी जटही गएको र त्यहाँ जाने क्रममा रुपेशको मोबाइलमा हरिचरणलाई लोभ लाग्यो । जटही पुगेर मोबाइल लिन हरिचरणले आफू र पवनको पेयपदार्थ मेरिण्डामा मात्र ४/४ वटा लागूऔषध नाइट्रोभेट ट्याबलेट हालेको र रुपेशलाई लट्ठ पार्न उनको मेरिण्डामा ८ वटा नाइट्रोभेट र २ वटा स्पास्मो ट्याबलेट हालेर सेवन गराएका थिए । 

आरोपितको बयानलाई उल्लेख गर्दै एसपी खड्काले भने ‘लागूऔषध सेवन गरेपछि तिनै जना जटहीबाट बसमा चढेर करिव सवा ७ बजे जनकपुरधाम आए। जटहीबाट जनकपुरधाम आउने क्रममा बसमा पटक पटक हरिचरणले रुपेशसँग मोबाइल मागेको थियो । मोबाइल नदिएपछि योजना तहत हरिचरण र पवनले रुपेशलाई लिएर जानकी मन्दिर घुम्दै दूधमति पुलमा पुगेको थियो ।’

दूधमति पुलमा मोबाइलको विषयलाई लिएर हरिचरण र रुपेशबीच धक्काधुक्की समेत भयो । त्यहाँबाट घर जाने क्रममा हरिचरणले रुपेशलाई पछाडिबाट बाँसको भाटा लिएर प्रहार गरेको थियो । बाँसको भाटा प्रहारबाट घाइते भएका रुपेशलाई नजिकै रहेका धान खेतमा फालेर भागेका थिए । प्रहरीले भने यदि समयमै रुपेशलाई उपचार गरिन्थ्यो भने बाँच्न पनि सक्थ्यो । तर बढी समय भएको कारण उपचार अभावमा मर्न गयो । 

प्रहरीले घटना स्थलबाट मृतकले प्रयोग गरेको एक थान साइकल, मृतकको मोबाइल सेट, आरोपित हरिचरणले घटनाको बेला प्रयोग गरेको रगत लागेको एक थान सर्ट, घटनामा प्रयोग भएका बाँसको भाटा र घटनाको क्रममा प्रयोग भएका पवन सहनीको मोबाइल बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट