सभामुख मण्डलले गरे सांस्कृतिक संग्रहालयको शिलान्यास

जनधाराडेली
२८ वैशाख २०८०
जनकपुरधाम, २८ बैशाख । धनुषामा सांस्कृतिक संग्रहालय बन्न लागेको छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–२ स्थित बघचौडामा सांस्कृतिक संग्रहालय बन्न लागेको हो ।सांस्कृतिक संग्रहालय निर्माणका लागि सोही ठाउँ बस्ने प्राध्यापक परमेश्वर कापडीले आफ्नो ४ कठ्ठा निजी जग्गा दान गरेका छन् । सोही जग्गामा बिहीबार मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिलान्याससमेत गरेका छन् । संग्रहालयको शिलान्यास गर्दै सभामुख मण्डलले यसले मिथिला क्षेत्रमा एउटा नयाँ आयाम थपिएको बताए । उनले संग्रहालय निर्माण भएपश्चात् यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने दाबी गरे । उनले आगामी सन्ततिको अध्ययन अनुसन्धानका लागि पनि यो आवश्यक रहेको बताए ।शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला कर्ण, हंसपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष जयनारायण कापड, स्थानीयबासी, भद्रभलादमीलगायतकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो संग्रहालयमा विभिन्न भेषभुषा झल्काउने पहिरन, मिथिला क्षेत्रमा हाल लोप हुँदै गएका विभिन्न सामग्रीहरु जस्तै ठेकी, बैलगाडा, पालकी, महफा, खरखरिया, करिन, माटोका भाँडाकुँडाहरुलगायतकाहरु राखिने छन् । संग्रहालय निर्माण भएपश्चात् तत्काल स्थानीयबासीहरुसँग संकलन गरेर ती सामग्रीहरु त्यहाँ राखिने जग्गादाता प्राध्यापक कापडीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !