प्रचण्ड नेतृत्वको सरकार चार वर्ष टिक्न सक्दैन : महासेठ

जनधाराडेली
२७ चैत्र २०७९
जनकपुरधाम, २७ चैत ।नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टी नेतृत्वको सरकारले पांच वर्षमा मधेश प्रदेशको विकासकालागि कुनै काम नगरेको आरोप लगाएका छन् ।
जनकपुरधाममा आइतबार एमाले निकट अखिल नेपाल किसान महासंघको तेश्रो जिल्ला सम्मेलनको प्रमुख अतिथिको आसनबाट बोल्दै सचिव महासेठले लालबाबु राउत नेतृत्वको तत्कालिन प्रदेश सरकारले पांच वर्षमा कुनै काम नगरेको आरोप लगाए । उनले मधेशी जनताको विकास नभए पनि मधेशी नेताको खुब विकास भएको टिप्पणी गरे ।
महासेठले प्रचण्ड नेतृत्वको सरकार अबको चार वर्षसम्म नटिक्ने दाबी समेत गरे । चार महिनामा मन्त्रीमण्डल लाई समेत पूर्णता दिन नसक्ने प्रचण्ड नेतृत्वको सरकार चार वर्ष टिक्ने नसक्ने उनको भनाई थियो । सचिव महासेठले देश र जनताकालागि नभई स्वार्थका लागि प्रचण्ड सरकार बनेको बताए । कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न सदैव सक्रिय रहने कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता मानेर प्रचण्ड, झलनाथ र माधव नेपाल हिंडेको महासेठको टिप्पणी थियो ।
सचिव महासेठले नेकपा एमालेको सरकार हुँदा किसानका लागि थुप्रै काम गरेको पनि दावी गरे । कार्यक्रममा मधेश प्रदेश एमालेका संसदीय दलका नेता सरोज यादव, एमालेका केन्द्रिय सदस्य रेखा झा, नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादव, एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव,उपाध्यक्ष भोला यादव , प्रदेशसभा सदस्य संतोष यादव लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !