बृहत्तरका तत्कालिन अध्यक्षसहित ५ जना भ्रष्टाचारी ठहर

  जनधाराडेली
  २० चैत्र २०७९

                            

 जनकपुरधाम, चैत २० गते । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ५ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह तथा राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा र लेखापाल उत्तमराज शर्मा ढकाललाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो ।

भारतीय सरकारको सहयोगमा ८ वटा परियोजना ठेक्का लागेकोमा ५ वटा परियोजनामा अनिमितता भएको पाइएको भन्दै विशेष अदालतले उनीहरुलाई भ्रष्टाचारी ठहर गरेको हो । न्यायधिशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले भष्टाचारी ठहर गर्ने फैसला गरेको हो ।

बृहत्तरको विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाएर २०७५ कार्तिक १५ गते मुद्दा दायर गरेको थियो । १० जनामध्ये ५ जनालाई विशेष अदालतले सफाई दिएको छ ।

परिषद्बाट गठित बोलपत्र मूल्यांकन समितिले विभिन्न मितिमा मूल्यांकन गर्दा लागत अनुमान अंकमा बदनियतपूर्वक विभिन्न परियोजनामा मूल्यांकन सिफारिस गरेको विशेष अदालतको ठहर छ । अनुमान अंकभन्दा ३० प्रतिशतभन्दा धेरै घटेको भन्दै बोलपत्र अमान्य भएको देखाउँदै केही बोलपत्रलाई मूल्यांकन प्रक्रियामा समावेश नै गराइएको थिएन ।

यसरी लापरबाहीपूर्वक मूल्यांकन र बोलपत्र स्वीकृत गर्दा परिषद्लाई ६२ लाख ८८ हजार रुपैयाँभन्दा बढीको घाटा भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो । साथै, निर्माण कार्यका विभिन्न वस्तुमा ठेक्का सम्झौता भएकोमा इकाइ दरमा घटबढ हुने गरी भेरिएसन स्वीकृत गरेको भेटिएको थियो । यसले परिषद्लाई थप ९ लाख ८५ हजार र अर्को ठेक्कामा ३ लाख ५४ हजार रुपैयाँको अनियमितता भएको दाबी अख्तियारले गरेको थियो ।

अख्तियारले कुल ७६ लाख २८ हजार रुपैयाँभन्दा बढी रकम बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । दोषी ठहर भएका पाँचजनाको चैत २८ गते सजाय निर्धारण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट