मैथिलीको शब्दकोष र व्याकरणको प्रकाशन गर्नका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सभामुख मण्डलको घोषणा

  जनधाराडेली
  ०९ फाल्गुण २०७९

                            

जनकपुरधाम, ९ फागुन । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषाको उत्थानका लागि  मैथिलीको शब्दकोष र व्याकरणको प्रकाशन गर्नका लागि ३० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मैथिली विकास कोषले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको ‘मातृभाषामे शिक्षा’ विषयक कार्यक्रममा बोल्दै सभामुख मण्डलले आफ्नो संसदीय विकास कोषको रकमबाट सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सभामुख मण्डलले कार्यविधि अनुसार नै संसदीय विकास कोषको रकम मध्ये साहित्य क्षेत्रमा १० प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान अनुरुप आफूले यस्तो घोषणा गरेको बताए । सभामुख मण्डलले प्रदेशको कामकाजी भाषाको विषयमा निश्कर्ष लगाउन आफू गम्भिर रहेकोसमेत बताए । उनले यही कार्यकालमा प्रदेशको कामकाजी भाषाको निश्कर्ष लगाइने दाबी गरे । मण्डलले मातृभाषाको विकासका लागि प्राथमिक तहको शिक्षा मातृभाषामा हुनुपर्नेमा जोडसमेत दिए । उनले यसकालागि तीनै तहको सरकार गम्भिर बन्नुपर्ने आवश्यकता रहेको बताए । मण्डलले मैथिली भाषालाई सबै जातजातीको हृदयमा वास गर्ने गरी बनाउनका लागि भाषाको सरलीकरण तर्फ ध्यान दिन आग्रह गरे । उनले मैथिलीलाई कुनै दायरामा नबाँधेर भाषाको सरलीकरण गरी आमजनको भाषा बनाउनु पर्नेमा जोड दिए ।

उनले सबैलाई मान्य हुने गरी मैथिलीको शब्दकोष, व्याकरण बनाउनु आवश्यक रहेको बताए । मण्डलले मैथिलीको शब्दकोष र व्याकरणको प्रकाशन गर्नका लागि अर्थको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले प्रदेशको कामकाजी भाषाको निश्कर्ष लाग्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए । मधेस प्रदेश सरकारको एक कार्यकाल समाप्त भइसकेपनि प्रदेशको कामकाजी भाषाको विषयमा सरकारले कुनै निश्कर्ष लगाउन नसक्नु दुःखद रहेको वक्ताहरुले बताए । वक्ताहरुले प्रश्न गर्दै भनेका थिए, ‘प्रदेश सरकारको एक कार्यकाल त समाप्त भइसक्यो । तर, प्रदेशको कामकाजी भाषा कहिले बनाउने ?’ प्रदेशसभा सदस्य रामसरोज यादवले माध्यमिक स्तरसम्मको शिक्षाको अधिकार प्रदेश मातहत ल्याउन सरकारसँग माग गरे ।

उनले माध्यमिक तहसम्मको शिक्षा प्रदेश मातहत नआएसम्म मातृभाषामा शिक्षा नारामै सीमित रह्ने बताए । भाषाविद डा. रामावतार यादवले असंख्य आमाहरु नै आफूले बोलिरहेको भाषाको विषयमा जानकार नहुनु दुःखद रहेको बताए । आमहरु नै भाषाको विषयमा जानकार नरहेकाले मातृभाषाप्रतिको अस्पष्टता बढिरहेको उनले बताए । उनले सन १९५२ फेब्रुअरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँचजनाले शहादत दिएपछि मातृभाषा संस्थागत रुपमा अभियान भएको र पछि सोहि दिनमा दिवसको रुपमा मनाउन थालिएको जिकिरसमेत गरे । बरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले मैथिली भाषा तथा मातृभाषाप्रति स्नेह राख्ने नेताहरुलाई मात्रै मत दिन आग्रह गरे । उनले मैथिली भाषा खुट्टाको बलमा नभई सधैं टाउकोको बलमा मात्र चल्ने गरेकाले आज संकटमा परेको बताए ।

मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपती रामभरोष कापडि भ्रमरले प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरे । कोषका अध्यक्ष जिवनाथ चौधरीले संघिय प्रणालीमा पनि पञ्चायतकाल जस्तै सडक र नालाकै विकास प्राथमिकतामा पर्ने गरेकाले पहिचान, भाषा र संस्कृती संकटमा परिरहेको बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, तमलोपाका अध्यक्ष वृशेषचन्द्र लाल, पूर्वसांसद परमेश्वर साह, साहित्यकार रोशन जनकपुरी, परमेश्वर कापडि, महेन्द्र मिश्र, रमेश रञ्जन झा, पुनम झा मैथिली, नेतृ विभा ठाकुर, कलाकार अनिता मण्डललगायतकाहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट