धनुषामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

जनधाराडेली
०९ फाल्गुण २०७९
जनकपुरधाम, ९ फागुन । धनुषामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको छ । जिल्लामा हात्तीपाइ रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था गरिएको हो ।
फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखी माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने जानकारी दिए ।
आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने उनले बताए । महोत्तरीमा हात्तीपाईले रोगको विरामी फेला परेपछि धनुषामा समेत औषधि खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ । हात्तीपाइले रोगको धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।
कतिपयमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
धनुषा, महोत्तरी र सिन्धुली गरि तीन जिल्लाको इमप्लिटेशन युनिट रहेकाले महोत्तरीमा हात्तीपाईले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनः अभियान चलाउन थालिएको हो । फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाईले रोगविरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिले भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !