
जनकपुरधाम, साउन ३२ ।सशस्त्र प्रहरीले शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर–२ देउरीबाट ठुलो परिमाणको अवैध चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटेको ७ जनाको मोवाईल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतको मधुबनी प्रखण्ड जयनगर पञ्चायत २ भेलवा चोक ठेगाना बताउने अन्दाजी २८ बर्षिय बन्धु कुमार सिंहलाई करिव ११ लाख मुल्य बराबरको १५ किलो अवैध चाँदीसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका सिंहले यस घटनामा ज.८ प. ९२३५ नम्बरको मोटरसाईकल प्रयोग गरेको र सो हाल मोटरसाईकल पनि प्रहरीको नियन्त्रणमा रहेको धनुषाका सशस्त्र प्रहरीका उपरिक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । पक्राउ गरिएको चाँदी कसको हो भन्ने खुल्न नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध चाँदी, मोटरसाईकल सहित सिंहलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाले यसअघि २०७५ मंसिर ५ गते जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाबाट ५ किलो र २०७६ जेठ २४ गते जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट पनि १२.७ किलो अवैध चाँदी पक्राउ गरेको थियो ।