नयाँ समाचार

हँसपुर नपाको कार्यालय हँसपुर चोकमै उपयुक्त हुने अनुगमन समितिको ठहर

जनकपुरधाम, भदौ ५ गते । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय कहाँ राख्ने विवादमा जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा गठित अनुगमन समितिले हँसपुरको बेलहीमै राख्ने उपयुक्त हुने ठहर गरेको छ । बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी गत साउन २३ गते गठित सो समितिले विवादित रहेका बघचौडा र हँसपुरको बेलही स्थित दुवै कार्यालयको अनुगमन गरी एक प्रतिवेदन तयार पार्दै यस्तो ठहर गरेका हुन । अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा उपमेयर रेणु झाले आफ्नो असहमति जनाउँदै हस्ताक्षर गरेको छैन । समितिले बघचौडामा सांघुरो क्षेत्रफल र कम कोठा रहेको र हँसपुरमा आम जनतालाई पायक र सहज हुने, जग्गा क्षेत्रफल बढी भएको, भवन सहितको पर्याप्त पुर्वाधार भएको कारण हँसपुर नै उपयुक्त हुने आफ्नो प्रतिवेदनमा भनेका छन् । सो प्रतिवेदनमा दुवै ठाउँका स्थानीयवासी, सरोकारवाला निकाय, पछिल्लो निर्वाचनमा मेयरका प्रत्यासी उम्मेदवार र राजनीतिक दलका विचार समेटिएको छ । समितिले बघचौडा स्थित कार्यालय २२ कट्ठा जग्गामा रहेको भनिएकोमा मुश्किलले ७\८ कट्ठा जग्गा मात्र रहेको, त्यसमा एक छेउमा पोखरीको डिल र अर्को छेउमा खोला रहेको कारण असुरक्षित रहेको र हँसपुरमा २२ कट्ठा जग्ग्गमा पर्याप्त पुर्वाधार सहित नजिकै प्रहरी चौकी रहेकोले सुरक्षित र जनतालाई सहज पुग्ने प्रतिवेदनमा उल्लेख छ । समितिले हालको बघचौडामा रहेको कार्यालयमा वडा नं. २ को कार्यालय नै संचालन गर्नुपर्ने उपयुक्त हुने सुझाव दिएका छन् । समितिले तयार पारेको प्रतिवेदन सिफारिसका लागि प्रदेश सरकारमा चांडै पठाउने संयोजक यादवले जानकारी दिए । यसैबीच भदौ ३ गते उच्च अदालतले यसअघि निर्णय गरिएका अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको छ । साउन २८ गतेका दिन उच्च अदालतले हालका लागि संचालनमा रहेको बघचौडा स्थित कार्यालयमै कार्य संचालन गर्न आदेश दिएको थियो ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *