नयाँ समाचार

राष्ट्रियसभा निर्वाचनका लागि प्रादेशिक कार्यालयको स्थापना

जनकपुरधाम, पुस १५ । राष्ट्रियसभाका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि बिहिबार एक कार्यक्रमका बिच प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यसका साथै सो कार्यालयको अधिकृतमा ब्रजेश प्याकुरेलले निर्वाचन अधिकृतको रुपमा पदभार ग्रहण गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका मतदाताहरुलाई मतदान गर्नका लागि जनकपुरधाममै मतदान गर्ने सुविधा मिलाइने निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले जानकारी दिइन् । माघ १२ गते देशै भरी हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २का ८वटै जिल्लाका ३ सय ७२ जना मतदाता रहेको उनले बताइन् । राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरुका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् ।

प्रदेश २ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा दुई मतदान केन्द्र तोकिने छन्। एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुले मतदान गर्ने छन् भने अर्कोमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्ने छन् । ‘निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टा छुट्टै दुई मतदान केन्द्र तय गरिनेछन्,’उनले भने ‘स्थानीय तहका जनप्रतिनीधिको मतभार १८ र प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने भएकाले यस्तो व्यवस्था गरिएको हो,र मतपत्र पनि छुट्टा छुट्टै हुन सक्ने देखिएको छ।’ राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै निर्वाचनका लागि तयारीमा यहाँका सरोकारवालाहरु सक्रिय बनेका छन्। ‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्थापनका लागि स्थानीय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन,धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने ‘विगतका निर्वाचन जस्तै यो निर्वाचनमा पनि सुरक्षा अवस्था मजवुत बनाईने छ।’

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *