जीवन शैलीनयाँ समाचार

मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

मोरङ, चैत ७ ।

मोरङको लेटाङमा भड्किएको हिंसा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार लेटाङ नगरपालिका– ५ खेरूवास्थित शिक्षा विकास माविमा भड्किएको हिंसामा एक प्रहरी महिला जवानको मृत्यु भएपछि अवस्था तनावमय बनेको थियो। विद्यालयका शिक्षकमाथि यौन दुर्व्यवहार आरोप लागेपछि पक्राउ गर्न विद्यालय पुगेको प्रहरीको टोलीमाथि आक्रोशित भीडले रातिसम्म आक्रमण गरेको थियो।

घटना नियन्त्रण बाहिर गएपछि तनावग्रस्त बनेको लेटाङमा सोमबार बिहान ७ बजेदेखि अर्को निर्णय नहुन्जेलसम्म कर्फ्यु लगाउने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र , वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाउने आइतबार राति निर्णय गरी जानकारी गराइसकिएको छ।

आइतबार साँझ लेटाङ ५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेका अवस्थामा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो।

आक्रोशित भीडले सवारीसाधनमा आगजानी र तोडफोड गर्न थालेपछि प्रहरीले हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो। घटनामा २ विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *