
जनकपुरधाम , माघ ३ जनकपुरको जिरोमाईलमा मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीको तस्विरमा जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन् । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शन सहित जुत्ता हान्न थालेपछि प्रहरीले पक्राउ गरेका हुन् ।

शान्तिपूर्णरुपमा पदर्शन गरिरहदाँ उपभोक्ता समितिले मुख्यमन्त्री राउत देखि अन्य मन्त्रीहरुलाई सार्वजनिक स्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई तत्कालै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगेका छन् । गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसद मार्फत वितरण गरिएका ८ सय ४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केही दिन देखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् । यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए । उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जबाफ दिन प्रदेश सरकारलाई रुलिङसमेत गरेको थियो । तरपनि सरकारले यस विषयमा केही बोल्न नसकेपछि प्रदेशसभा अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि अनिश्चितकालिनसम्मको लागि स्थगित गरिएको छ ।