जनकपुरधाम, माघ १९ । धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश तथा देशको विकासको संकल्प लिएर अगाडी बढिरहेको बताए छन् । आफू मधेश बिरुद्ध बिरोधी रहेको हल्ला फैलाइएको भन्दै आफू मधेश विकासको अठोटका साथ अगाडी बढिरहेको बताए । धनुषाको ढल्केवरमा मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत सबस्टेशनको उदघाटनपछिको सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे । उनले भने, मलाई मधेस विरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेश बिरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले जति गरेको विकास मधेसमा गरेर देखाउनुस ।’ अगाडी भने ‘आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिडेको देख्नु भएको छ ?, मधेशप्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस ।’ खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ प्रधानमन्त्री ओलीले भने ।
मधेसका सडकहरु अस्त व्यस्त थिए, ढल थिएन कसैले निर्माण गर्न रोक्या थियो र ? उनले भने ‘ मधेश बिरोधी केपी ओलीलाई भन्ने अनि बाटो ओलीले बनाइ दिने, ढल ओलीले बनाई दिने, हामी मधेशको विकास गरेर देखाउँछौँ ।’ मधेशको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिंचाई सुविधा पुर्याउनका लागि कोशीको पानी तराई झादैँछौँ । उनले भने ‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ ।’ एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दावी गरेका छन् ।
प्रतिनिधिसभा विघटनपछि सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दावी गर्दै उनले चुनावको तयारीमा लाग्न सबैलाई आह्वान गरे । उनले भने ‘ तपाईंहरू चुनावको तयारीमा लाग्नुस, मिति एक दिन पनि पछाडी धकेलिदैन ।’ नेकपाको दुई पक्षबिचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले ३ करोड मध्ये २÷४ जना जाँदैमा खासै फरक नपर्ने बताए । उनले हामीलाई छोडेर गएकाहरु पार्टी भित्र उपद्रव मचाएका थिए, सरकारको खुट्टा तान्नु बाहेक केही गर्दैन थिए । प्रधानमन्त्री ओलीले भने ‘ म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर ।’ नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेर प्रधानमन्त्रीबाट उदघाटन गरिएको हो । नेपाल–भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब–स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो ।