अवधेश कामत
जनकपुर, असोज २४ ।
प्रदेश २ को सरकार भ्रष्टाचारको चरम सिमामा पुगेको पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृक यादवले आरोप लगाएका छन् । संघीयतालाई कमजोर पार्न षड्यन्त्रमा केही मधेशवादी दल नै तल्लिन रहेको बताउ्रँदै पूर्व मन्त्री यादवले विकास निर्माणको नाममा भ्रष्टाचार चरम सिमा नाघेको बताएका हुन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोध गर्दै पूर्व मन्त्री यादवले प्रदेश सरकारले कोरोना महामारीले प्रदेश २ को अवस्था भयावह रहेको बेलामा समेत जनताप्रति उत्तरदायी हुन नसकको आरोप लगाए । “ विश्वव्यापी कारोना महामारीबाट विश्व अक्रान्त छ, तर यहाँ कतिपयलाई सत्ताको आडमा भ्रष्टाचारलाई पश्रय दिईरहेको छ, यही अवस्था रहे कोरोना भन्दा पहिले सरकारले यहाँको जनताको ज्यान लिन्छ ।”
नेकपाका स्थायी समिति सदस्य समेत रहेका यादवले नेकपा भित्रको विवाद प्रायः समाधान भएको र मन्त्री मण्डलको हेरफेरको विषयमा समेत स्थायी समितिले गरेको निर्णय नै कार्यान्वयन हुने बताए । पार्टीको आन्तरिक समस्याहरु समाधान हुदैँ गएको समेत स्पष्ट पार्दै पार्टी आगामी कार्यदिशामा अघि बढीसकेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टीका नेता अजय राय, रामचन्द्र राय र सुनिल राय लगायत दर्जनौँ स्थानीय नेताहरु तथा नेपाली कांग्रेसका युवाहरु नेकपा पार्टी प्रवेश गरेका छन् । गणेशमान चारनाथ मुस्लिम टोल बस्ने कैयूम लेहरीको नेतृत्वमा दर्जनौँ मुस्लिम अगुवाहरु गरी करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेता मातृकाप्रसाद यादवले फुलमाला लगाएर स्वागत गरेका थिए । सो क्रममा नेकपा केन्द्रिय सदस्य संघीय सांसद बोधमाया यादव, केन्द्रिय सदस्य प्रदेश सांसद एवम् पुर्व मन्त्री शत्रुधन महतो, प्रदेश सांसद किशोरी शाह (कमल) गणेशमान चारनाथ नगरका उप–प्रमुख मिना कुमारी यादव, केन्द्रिय सदस्य सुधीर प्रसाद साह, चन्द्रदेव राउत, श्याम यादव, दिपक यादव, राष्ट्रिय युवा संघ नेपाल धनुषाका अध्यक्ष सरोज यादव लगायतका उपस्थिति रहेको थियो ।