

जनकपुरधाम, कार्तिक २७ । मंसिर १४ गते हुने स्थानीय तहको उनिर्वाचनका लागि महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष विनोद चौधरीको असामयिक निधन भएपछि फेरी सो गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु गरी २० जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगकको कार्यालयले उम्मेदवारीका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मका लागि समय तोकिएको छ । पिपरा गाउँपालिकाको अध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बिक्रम चौधरीले उमेदवारी दिएका छन् । उनी यस अघि तत्कालिन नेकपा एमालेबाट समेत गाउँपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । उनी राजपाका उम्मेदवार विनोद चौधरीसंग ७ सय भन्दा बढी मतान्तरले पराजित भएका थिए ।



राष्ट्रिय जनता पार्टी नेपालबाट रविता चौधरीले उम्मेदवारी दिएकी छन् । उनी दिवंगत अध्यक्ष चौधरीको श्रीमती हुन् । समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएका छन् । उनी यसअघि तत्कालिन नेकपा माओवादीबाट अध्यक्ष पदका लागि चुनाव लडेका थिए । यद्यपि ८ सय मत मात्रै उनी ल्याउन सकेका थिए । नेपाली कांग्रेसबाट विजय कुमार यादवले मनोनयन दर्ता गराएका हुन् । यसका अतिरिक्त राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रीक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, नेपाल जनमत पार्टीबाट अन्जनी देवी मण्डल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टीबाट शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिकाको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी समेत परेको छ । रामवृज यादव, पुनित अधिकारी, गणेश कुमार यादव, प्रविन चौधरी, प्रदिप कमार यादव र शैल देवी मण्डलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।





