
जनकपुरधाम, भदौ ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको छ । शपथ ग्रहण समारोह विधान विपरित गराइएको भन्दै पदाधिकारीहरुलाई पदच्युत गर्न माग गरिएको छ । मंगलबार काठमाण्डौँ स्थित नेकपा कार्यालयमा १६ जना केन्द्रीय सदस्यहरुले पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदच्युत गर्न माग गरेका हुन् । विधि र अनुशासनमा यथाशिघ्र अगाडि बढाउन माँग गर्दै नेकपा केन्द्रीय सचिवालयमा प्रदेश नम्बर दुईका सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी र महेन्द्र पासवान सहित १६ जनाले पत्र दर्ता गराएका छन् ।
नेकपा केन्द्रिय समितिको परिपत्रलाई उल्लंघन गर्दै अध्यक्ष र महासचिवको निर्देशन विपरीत शपथ ग्रहण राखेर असहज परिस्थिति श्रृजना गरेको भन्दै नेकपा प्रदेश दुईका इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माँग गरिएको हो । केन्द्रिय कार्यालयमा दर्ता गराइएको सो पत्रमा हस्ताक्षर गर्ने केन्द्रिय सदस्यहरुमा रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा लगायतका रहेका छन् ।
नेकपाका केन्द्रिय सदस्यहरुलले बुझाएको सो पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने, प्रदेश दुई कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने भन्दै माग गरिएको छ । त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरीत प्रदेश दुईका सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र सक्षमहरुलाई मनोनयन गर्दै सपथ ग्रहण गराउनु पर्ने माँग अगाडी बढाएका हुन् । नेकपा प्रदेश नम्बर २ समितिका इन्चार्ज र अध्यक्ष लगायतका पदाधिकारीले षड्यन्त्रपूर्वक पर्सा र बारामा गराइएको कथित सपथ ग्रहण रद्द गरी जिल्ला कमिटिमा मनोनयन गरिएको त्रुटी सच्याएर शपथ ग्रहण गर्न सो पत्र मार्फत आग्रह समेत गरिएको छ । उनीहरुले जिल्ला कमिटि मातहतका पार्टी कमिटीहरुमा समेत अवैधानिक र विधि विपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्नु समेत माँग गरेका छन् ।


