
जनकपुरधाम, असोज २ ५ । जनकपुरधामस्थित जानकी मन्दिरमा जारी मार्बल ओछ्याउने कार्य गुणस्तरयुक्त भईरहेको परिक्षण सहितको रिपोर्ट सार्वजनिक गरिएको छ । प्रदेश दुईको मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक भगवान झाले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरमा भईरहेको मार्बल ओछ्याउने कार्य गुणस्तरयुक्त रहेको परिक्षण रिपोर्ट सार्वजनिक गरेका हुन् । जनकपुरधामका केही युवा अभियन्ताहरुले मार्बल लगाउने कार्य कमसल स्तरको भईरहेको आरोप लगाएपछि काम रोक्न दवाब दिदै आएका थिए । युवाहरुकै आरोप पछि मुख्यमन्त्री स्वच्छता अभियानका पदाधिकारीहरुले मार्बल परिक्षणका लागि भारतको राजस्थनस्थित राहुल इन्जिनियर्स लैबोरेटरीमा पठाइएको थियो । लैबोरेटरीको परिक्षणबाट वाटर अवजर्वेशन ०.४० प्रतिशत हुनुपर्नेमा ०.२३ प्रतिशत, मार्बल थिकनेश कम्तीमा १६ एमएम हुनुपर्नेमा १८ एमएम, स्पेशिफिक ग्रैभिटी कम्तीमा २.५ हुनुपर्नेमा २.८६, कम्प्रेशिभ स्ट्रेन्थ कम्तीमा ५३०.२५ केजी प्रति स्क्वायर सेन्टिमिटर हुनु पर्नेमा ९४६ केजी प्रति स्क्वायर सेन्टिमिटर पाइएको छ । परिक्षणबाट सम्पूर्ण मानक ठिक रहेकोले जानकी मन्दिर सौन्दर्यीकरणको कार्य गुणस्तरयुक्त भईरहेको साबित भएको मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक भगवान झाले दावी गरे । मन्दिर प्रांगणमा मार्बल ओछ्याउने कार्य भई सकेपछि ड्रेनेजको कार्य, मन्दिर दर्शनका सवारी साधन लिएर आउनेहरुका लागि पार्किंगको व्यवस्था, चप्पल जुत्ता राख्ने स्थल, आकर्षक बगैँचा, मन्दिर वरिपरी अशोक वृक्ष लगाउने लगायतको योजना रहेको झाले जानकारी दिए । उनले यसका अतिरिक्त मन्दिरको प्रांगणमा भक्तजनहरुलाई विश्रामका लागि बेन्च लगाउने, मन्दिरको तीनवटा स्टीलको मुख्यद्वार निर्माण गर्ने लगायतको योजना रहेको बताए ।