
जनकपुरधाम, बैशाख ११ गते
जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमख रामबाबु यादव आफ्ना दर्जनौँ समर्थकसहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यादवसहित उनका समर्थकहरुलाई लोेसपाका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया र धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहलगायतकाले आइतबार दिउँसो माला र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश पश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले जसपाभित्र एकलौटी निणर्य हावी भएको र पूराना नेता कार्यकर्तालाई अवमूल्यन गरिएकोले बाध्य भएर आफूले जसपा परित्याग गरी लोसपामा प्रवेश गरेको बताए ।
उनले आफ्नो लागि सिफारिस भएर आएको टिकट पार्टीका नेताहरु दिपक कार्की र मन्त्री रेणु यादवले अरुलाई बाँडेर पैसाको चलखेल गरी पार्टीभित्र भाँडभैलो मचाएको आरोप लगाए ।
यादव २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।
यसअघि टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा आइतबार बिहान जनकपुरधाममा कुटपिट भएको थियो । जनता समाजवादी पार्टी नेपालले गणेशमान चारनाथ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार छनोट गरेपछि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादवसहित करिव १० जना नेता÷कार्यकर्ता कुटिएका हुन् ।
गणेशमान चारनाथ नगरपालिकाको लागि पार्टीका मधेस प्रदेश अध्यक्ष शेषनारायण यादव र गजाधार रोहिताले अर्का उम्मेदवार छनोट गरेपछि निवर्तमान मेयर रामबाबु यादव असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका छन् ।