अन्य

जनकपुरधाम विमानस्थलमा रिफ्युलिन्ग स्टेशनको स्थापना

जनकपुरधाम, साउन १० । जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेशनको उदघाटन गरिएको छ । जनकपुरधाम विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले उदघाटन गरेका हुन् । विमानस्थलमै रहेको बुद्ध एयरको विमानमा हवाई इन्धन भरेर उनले रिफ्युलिंग स्टेशनको उदघाटन गरेका छन् । हवाई इन्धन जनकपुरधाम विमान स्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीहरुलाई समेत समस्या हुँदै आई रहेको थियो । जनकपुरधाम विमान स्थल स्थापना भएको ५३ वर्ष पछि मात्रै रिफ्युलिंग स्टेशनको स्थापना गरिएको हो । रिफ्युलिंग स्टेशनको उदघाटन गर्दै मन्त्री यादवले जनकपुरधाम विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये यो रिफ्युलिंग स्टेशन पनि एक पूर्वाधार रहेको बताए । मन्त्री यादवले यो रिफ्युलिंग स्टेशनको स्थापनामा एक व्यक्तिको मात्र नभई नेपालका सम्पूर्ण पक्षका साथै भारत सरकारको समेत सहयोग रहेको जानकारी दिए । जनकपुरधाम विमानस्थलमा रिफ्युलिंग स्टेशनको स्थापना गरिएपनि तत्काल स्टकको व्यवस्था गरिएको छैन । स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुरधाम विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जानकारी दिए । उनले तत्काल ४१ किलोलिटर हवाई ईन्धन मात्रै स्टक गरिएको उनले बताए ।

विमान स्थलमै डिपो स्थापनाका लागि प्रकृया समेत अगाडी बढाइएको छ । नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ । १ सय ४० किलोलिटर क्षमताको डिपो दुई वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले बताए । रिफ्युलिंग स्टेशन जनकपुरधाम विमान स्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुनेछ । यसले विमानहरुले कमै इन्धनका साथ जनकपुरधाम विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले जानकारी दिए । रिफ्युलिंग स्टेशनका कारण अल्टरनेटिभ लैण्डिंगका लागि काठमाडौँ पछि जनकपुरधाम विमान स्थल प्राथमिकतामा पर्ने उनको भनाई छ । काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमान स्थलकै रहेकाले लैण्डिंग तथा टैक अफ चार्ज उठाएर समेत विमान स्थलले अर्थोपार्जन गर्न सक्नेछ । यस्तै रात्रिकालिन लैण्डिंग गर्नुपर्ने अवस्थामा समेत जनकपुरधाम विमानस्थलनै प्राथमिकतामा पर्ने ठाकुरले बताए । उनले यहाँ विमानहरु रात्रिकालिन पार्क गर्दा यहाँका होटेल व्यवसायहरुले समेत फाइदा उठाउन सक्नेछ ।

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *