जनकपुरधाम, कात्तिक ३ गते ।
जनकपुरधाम उपमहानगरालिका वडा नम्बर ३ का वडा कार्यालयमा सदस्यले नै तालाबन्दी गरेका छन् । जानकीचोकस्थित उपमहानगरको ३ नम्बर वडा कार्यालयमा असन्तुष्ट ४ वडा सदस्यहरूले तालाबन्दीका क्रममा उनीहरूले विधिको शासन लागू गर, वार्षिक कार्यक्रम सार्वजनिक गर, नीति तथा कार्यक्रम सार्वजनिक गर, वडा भेला बृहत् गर, आयव्यय सार्वजनिकको माग गर्दै ताला लगाएर नाराबाजी समेत गरेका छन् ।
असन्तुष्ट ४ जना वडा सदस्यहरू शत्रुधन भगत, कुशेश्वर दास, बबि कर्ण र सुनिता दासले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यता, वडाध्यक्ष दिपेन्द्र साहले वडा कार्यालयमा तालाबन्दी गरिएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए । उनले भने,‘तालाबन्दी गरेर समस्या समाधान नहुने हुँदा बोर्ड बैठकमा संवादको माध्यमबाट असन्तुष्टि राख्नु उपयुक्त हुन्छ । तालाबन्दी गर्नु जायज छैन् ।’ वडा सदस्यहरुले लगाएको ताला स्थानीयले केहीबेरमै तोडेका थिए ।