
जनकपुरधाम, ८ बैशाख ।
धनुषा प्रहरीले जनकपुरधामस्थित सीटिइभीटिको परीक्षा केन्द्रबाट दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको बह्रमपुरी गाउँपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् ।
सीटिइभीटि बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागि भएको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ्ग’ को परीक्षामा परिक्षार्थी लक्ष्मी नारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिईरहेको अवस्थाबाटै पक्राउ गरिएको थियो ।
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।