
जनकपुरधाम, ११ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा पुनः लालकिशोर साहले उम्मेदवारी दिने भएका छन् ।
जनता समाजवादी पार्टी नेपालले मनोनय दर्ता अघि आइतबार जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदम चुनाव लड्न साहलाई टिकट दिएको हो ।
यसअघि २०७४ सालमा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधामको नगरप्रमुखमा निर्वाचित भएका थिए ।
राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोको कित्ता परिवर्तन गरी उपेन्द्र यादवको पक्षमा गएका थिए ।
जनकपुरधाममा गठबन्धनबाट जसपाको कोटामा नगरप्रमुख परेको छ । तर गठबन्धन भित्रैबाट केहि नेता कार्यकर्ताहरूले उनलाई मतदान नगर्ने बताइरहेका छन् ।
उनको उम्मेदवारीप्रती असन्तुष्टि जनाउँदै काङ्ग्रेसका नगर सभापति मनोज साहलगायत सयौं नेता कार्यकर्ताले सधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन् ।