नयाँ समाचार

कोरोनाबाट बच्‍न पत्रकारलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले विश्वभर फैलिरहेको नोभेल कोरोना भाइर अर्थात कोभिड-१९ बाट बच्‍न पूर्वसतर्कता अपनाउन पत्रकारलाई आग्रह गरेको छ । 

महासंघका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्य अघि बढाएको छ । महासंघ सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्यस्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गर्दछ ।”

कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघ विशेष आग्रह गरेको छ ।

यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी गराइएको छ । 

Share this
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *