
जनकपुरधाम, २३ फागुन ।
धनुषा जिल्लामा कुष्ठरोगको प्रभावकारी उपचार, नियन्त्रण तथा नयाँ बिरामीको खोज तलासका लागि विशेष अभियान चलाइने भएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले कुष्ठरोगी पत्ता लगाउने अभियान चलाउन लागेको हो । सोमबार जनकपुरधाममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखाका प्रतिनिधि सहितका सरोकारवालासँग आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले सरकारले लिएको लक्ष्य पुरा गर्न धनुषामा तीन वर्षका लागि सुरु हुन लागेको यो अभियान सफल बनाउन स्थानीय तहहरूको सक्रियता आवश्यक रहेको बताए । हाल मधेस प्रदेशमा १ हजार ३ सय ४७ कुष्ठरोगी रहेकोमा ६ सय ३८ जना औषधि सेवन गरेर निको भएका छन् भने ६ सय ७७ जना बाँकी रहेको र नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ अधिकृत राजवीर यादवले जानकारी दिए । अहिले धनुषामा १ सय १३, महोत्तरीमा ६०, सर्लाहीमा ८७, सिरहामा ६८, सप्तरीमा ३९, रौतहटमा १ सय ५, बारामा १ सय तथा पर्सामा ९८ जना कुष्ठरोगी रहेको अधिकृत यादवले बताए । एन. एल.आर नेपालको सहयोगमा सुरु हुन लागेको अभियान बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले स्थानीय तहहरूको सहयोग विना कुष्ठरोगको निवारण कठिन भएको बताए । उनले यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक भएको बताए ।