जनकपुरधाम, फागुन ३० । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याएने बताएका छन्।
सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।
कम्युनिष्ट पार्टीले दुई तिहाईको बहुमत हुँदासमेत काम गर्न नसकेको आरोप लागिरहेको भन्दै उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन। माओवादीसँगको बाम गठबन्धनपश्चात बहुमतको बनेको र उपेन्द्र यादवको पार्टीको समर्थनपश्चात करिब दुई तिहाईको बहुमत भएको थियो। तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउँछ।’
पाखरेलले माधव नेपालले पार्टीलाई आफ्नो जिमदारी ठानेको र अरु नेता भएपछि उनी बस्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु। उहाँको केही समस्या छैन, एउटा मात्र त्यो हो, उहाँ एमालेलाई आफ्नो जिमदारी ठान्नुहुन्छ। उनको जिमदारीमा कोही आएर नेता भएपछि उनी रहनै सकेनन्। १४ वर्ष जेल बसेका केपी ओलीलाई माधव नेपालले पचाउनै सकेनन्।’
त्यस्तै उनले पुष्पकमल दाहाल प्रचण्डले केपी ओली दुई पटक किड्नी फेरेकोले जान्छ भनेर दुई अध्यक्षीय प्रणाली लागु गरेको तर त्यस्तो नभएपछि नेपाल र दाहालको साँठगाँठ बनेको र पार्टी विभाजन भएको बताए।
‘पार्टीमा रहेका विभिन्न क्षेत्र, जात, समुदायका व्यक्तिलाई साथमा लिएर जान सक्नुपर्छ’, पोखरेलले भने, ‘नेताको नेतृत्वलाई स्वीकार गरे, नेताहरुको निर्णयको पालन गरे, नेताहरु सबैलाई समेटेर अगाडि बढे मात्र एमाले मजबुत हुन्छ।’ एमाले कित्ता कित्तामा बाँडिए दुभाग्यपूर्ण हुने उनले बताए।
त्यस्तै एमालेका सचिव रघुवीर महासेठले एमालेलाई मधेस विरोधी भन्नेहरु एमालेको सरकारमा सहभागी भएर एमाले मधेस विरोधी नरहेको पुष्टि गरिसकेको बताए। उनले सुरुमा उपेन्द्र यादवको नेतृत्वमा र पछि राजेन्द्र महतोको नेतृत्वमा मधेसवादी दलले एमालेको सरकारमा सहभागी भएर एमाले मधेस विरोधी पार्टी नरहेको पुष्टि गरिसकेको बताए।
सचिव महासेठले २४० वर्षमा हुन नसकेको काम एमालेको पालामा साढे ३ वर्षमै काम भएको दावीसमेत गरे।