
काठमाडौं, फागुन १८ ।
संसदबाट एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ ।
एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।
एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक, लिड इन्जिनियर (प्रसारणलाइन), ऊर्जा क्षेत्र पुनर्संरचनाका विषेशज्ञ, अनुगमन मूल्यांकनका विशेषज्ञ, डीईडी म्यानेजमेन्ट गर्ने असिस्टेन्ट, आउटरिच कम्युनिकेसन असिस्टेन्ट, कार्यालय सहयोगी र ड्राइभर पदमा आवेदन माग गरेको छ ।
आवेदन दिन इच्छुकले १५ मार्चसम्म आवेदन दिन सक्नेछन् । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिँदैछ ।